09 Aug, 2022

वक्तृत्वकला सम्पन्न

वक्तृत्वकला सम्पन्न

धवलागिरि बहुमुखी क्याम्पस नेपाली विभागले आयोजना गरेको वक्तृत्वकला प्रतियोगितामा बि.बि.ए.तेस्रो सेमेष्टरकी विद्यार्थी निरुता शर्मा प्रथम भएकी छन् । यसैगरी बि.बि. एस. चोथौ वर्षकी विद्यार्थी सृष्टि आचार्य द्वितीय र बिबिएस तृतीय वर्षकी विद्यार्थी विमला रिजाल तृतीय भएकी छन् ।
कार्यक्रममा प्रथम, द्वितीय र तृतीय स्थान प्राप्त गर्ने विद्यार्थीहरुलाई क्याम्पसका व्यवस्थापन समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापा र क्याम्पस प्रमुख रामप्रसाद उपाध्यायले अबिर लगाएर शुभकामना दिएका थिए । सो अवसरमा बोल्दै अध्यक्ष डा. थापाले विद्यार्थीहरु फरकफरक क्षमता हुन भएकाले एउटै प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय बन्न सकिएन भनेर निराश हुन नपर्ने बताएका थिए । उनले यस्ता कार्यक्रमले विद्यार्थीहरुको अन्तर्निहित प्रतिभाको प्रस्फुटन हुने बताएका थिए । सो अवसरमा बोल्दै क्याम्पस प्रमुख प्राध्यापक डाक्टर रामप्रसाद उपाध्यायले क्याम्पस गुणस्तर प्राप्तिका लागि प्रयत्नशील रहेको र यस्ता कार्यक्रमले गुणस्तर प्राप्तिको कार्यलाई थप मजबुत बनाउने बताए । यस्ता कार्यक्रमलाई वार्षिक उत्सवमा मात्रै सीमित नगरी वर्षभरी संचालन गर्ने तयारी गरिरहेको जानकारी पनि उनले दिए ।
कार्यक्रमका बारेमा नेपाली विभागका विभागीय सदस्य तथा सहायक क्याम्पस प्रुमख हरिप्रसाद पाण्डेयले प्रकाश पारेका थिए । कार्यक्रममा प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, कर्मचारी संघका उपसभापति भूपाल चालिसे, एसक्युसिका संयोजक सुदीपसागर कँडेलले मन्तव्य राखेका थिए । वक्तृत्वकला प्रतियोगिताको निर्णायकमा प्राध्यापक संघका सभापति भक्तिराम न्यौपाने, अङ्ग्रेजी विभागका विभागीय सदस्य श्यामप्रसाद शर्मा र नेपाली विभागका विभागीय सदस्य रामजीप्रसाद सुवेदी रहेका थिए । वक्तृत्वकलामा पुरस्कृतहरुलाई वार्षिक उत्सवका अवसरमा पुरस्कार दिने क्याम्पसले बताएको छ ।