03 Nov, 2021

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको स्वागत तथा सम्मान कार्यक्रम

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्रीको स्वागत तथा सम्मान कार्यक्रम
१६ कार्तिक, २०७८
धवलागिरि बहुमुखी क्याम्पस, बागलुङमा एक कार्यक्रमका बीच नेपाल सरकारका माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रिभुवन विश्वविद्यालयका सहकुलपति देवेन्द्र पौडेललाई स्वागत तथा सम्मान गरिएको छ । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्रा. डा. दिनबहादुर थापा र क्याम्पस प्रमुख प्रा. डा. रामप्रसाद उपाध्यायद्वयले सम्मानपत्रका साथ दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । यसैबीच नयाँ शिक्षण भवन, छात्रहरुका लागि छात्रावास र शिक्षक कर्मचारीका लागि नयाँ आवासगृह निर्माणका लागि क्याम्पसले तयार गरेको डिपिआर क्याम्पस प्रमुख उपाध्यायले माननीय मन्त्रीज्यूलाई हस्तान्तरण गर्नुभएको थियो । क्याम्पस सञ्चालक समितिका अध्यक्ष प्राध्यापक डाक्टर दिनबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको यस कार्यक्रममा प्रमुख अतिथिको आसनबाट बोल्दै माननीय शिक्षामन्त्रीले यस क्याम्पसको भौतिक पूर्वाधाारतर्फको विकास, क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम थप गर्न र जनशक्ति व्यवस्थापनका लागि सिङ्गो क्याम्पस परिवारसँग मिलेर सँगसँगै काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । जटिल मोडमा पुगेको राजनीतिलाई सही मार्गमा ल्याई शिक्षा क्षेत्रमा आमूल परिवर्तन ल्याउनका लागि राष्ट्रिय शिक्षा नीति २०७७ लाई कार्यान्वयनमा ल्याउने कुरा बताउनुभयो ।
कार्यक्रममा स्व.वि.यु.का सचिव विष्णुराज पौडेलले क्याम्पस प्रमुखबाट उठाएका सम्स्याहरुले आफू गम्भिर भएको र अहिले चर्चामा रहेको शिक्षा नीतिलाई कार्यान्वयनमा ल्याई युवा पुस्ताको बढ्दो मात्राको विदेश पलायनलाई रोक्नसक्ने गरी अगाडि बढ्नका लागि माननीय मन्त्रीलाई आग्रह गर्नुभयो । त्रि. वि. कर्मचारी संघ क्याम्पस इकाइका सभापति शिवप्रसाद पाध्याले माननीय मन्त्री एवम् त्रि.वि.का सहकुलपतिज्यूबाट विश्वविद्यालयमा देखिएका समस्याहरुलाई समाधान गरी यस संस्थाको साख बचाउनमा विशेष भूमिका रहने छ भन्ने कुरा विश्वास गर्नु भएको थियो । त्रि. वि. प्राध्यापक संघ क्याम्पस एकाइ समितिका कार्यवाहक सभापति भक्तिराम न्यौपानेले पूर्ववर्ती सरकारले त्रि.वि.का आंशिक शिक्षकहरुसँग गरेको सम्झौताअनुसार १४२० वटा दरबन्दी सिर्जना गरी करारमा राख्ने, क्याम्पसमा नयाँ शैक्षिक कार्यक्रम थप गर्न र क्याम्पसमा सञ्चालनमा रहेको बि.एस्सी कार्यक्रममा पूर्णकालीन शिक्षकको व्यवस्था अबिलम्ब गर्नमा मन्त्रीज्यूको विशेष भूमिका रहने कुरा बताउनुभयो ।
सभापतिको आसनबाट बोल्दै प्रा. डा. दिनबहादुर थापाले क्याम्पसमा देखिएका समस्या समाधान गर्दै शैक्षिक गुणस्तरमा सुधार ल्याई यस क्याम्पसलाई यस क्षेत्रकै उत्कृष्ट क्याम्पसमा रुपमा स्थापित गराउने उद्देश्यका साथ क्याम्पस स्वायत्ततामा गएको कुरा बताउनुभयो । कार्यक्रमका प्रमुख अतिथि एवम् उपस्थित महानुभावहरुलाई क्याम्पस प्रमुख उपाध्यायले स्वागत गर्दै समग्र क्याम्पसको वर्तमान अवस्था र समस्याका बारेमा अवगत गराउनु भएको थियो । क्याम्पसले विश्वविद्यालय अनुदान आयोगबाट गुणस्तर सुनिश्चितता प्रत्यायन प्रमाणपत्र लिने कार्यक्रम अन्तिम चरणमा पुगेको र सो अनुसार सुधारका आवश्यक कार्यहरु अगाडि बढाइएको व्यहोरा समेत क्याम्पस प्रमुख उपाध्यायले बताउनुभयो । माननीय शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री एवम् त्रि.वि.का सहकुलपतिको स्वागत तथा सम्मानका लागि आयोजना गरिएको यस कार्यक्रमको सञ्चालन सहायक क्याम्पस प्रमुख हिरालाल रेग्मीले गर्नुभएको थियो ।